Logo

अपाङ्गता एकल महिला भत्ता रोकेमा काँग्रेसको आपत्ती

९ जेठ ०७७, काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले अतिअशक्त अपाङ्गता भएका व्यक्ति र ६० वर्ष मुनिका असहाय एकल महिलालाई विगतदेखि पाउँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण नगर्ने निर्णयप्रति ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
उहाँले आज एक विज्ञप्तिमार्फत यस कार्यबाट संविधानले ग्यारेन्टी गरेको सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको हनन हुने र संविधानले आत्मसात गरेको मौलिक हकको प्रतिकूलसमेत भएको भन्दै विरोध जनाउनुभएको हो । यो कार्य कोरोना महामारीबाट जनता प्रताडित भइरहेको विषम अवस्थामा नेपालको संविधानमा उल्लेख भएको ‘अशक्त, अपाङ्गता भएका व्यक्ति र असहाय नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनुपर्ने छैन’ भन्ने प्रावधान प्रतिकूल रहेको भनी सांसद पन्थले टिप्पणी गर्नुभएको छ ।

अतिअशक्त अपाङ्गता भएका व्यक्ति र असहाय एकल महिलाको भत्ता रोकिनु भनेको अत्यन्त अमानवीय कार्य भएको भन्दै उहाँले उक्त निर्णय तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्