Logo

माटो जाँच्दै दक्षिण ललितपुरको वाग्मती


१० जेठ ०७७, ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले माटो परीक्षण गर्दैछ । माटोको गुणस्तरबारे जानकारी हासिल गरी उत्पादकत्वमा बढवा दिन गाउँपालिकाले माटो परीक्षण प्रक्रिया अघि बढाएको हो । मुलुक कोरोना भाइरसले बन्दाबन्दी हुनुपूर्व परीक्षणका लागि गाउँपालिकाका सबै वडाबाट माटो सङ्कलन गरिएको थियो । यहाँको माटोमा आवश्यक तत्व कुन–कुन पुगेको छैन । कुन तत्वको मात्रा बढी छ । भौगोलिक हिसाबले मानिसको पातलो बस्ती रहेको स्थानमा कस्ता–कस्ता बाली उत्पादन गर्न सकिन्छ भनी परीक्षण थालिएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख सुवास खनालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिरुवालाई १६ पोषकतत्वको आवश्यक पर्दछ । यी तत्वलाई मुख्य, सहायक र सुक्ष्म गरी तीन भागमा विभाजन गरिन्छ । हामीले बिरुवालाई चाहिने नाइट्रोजन, फस्फोरस, पोटास र माटोको पिएच परीक्षण गरिरहेका छाँै । बिरुवाले कार्बनडाइ आक्साइड, हाइट्रोजन र अक्सिजनबाट हावा वा पानीबाट लिने गर्छ । माटोलाई सबैभन्दा बढी आवश्यक पर्ने तत्व नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा यसमा कति छ ? यहाँका माटोमा कस्तो किसिमका बिरुवा लगाउन सकिन्छ । बिरुवालाई आवश्यक पर्ने खाद्यतत्व माटोमा पुगको छ या छैन । विज्ञले किसानलाई के–कस्तो सुझाव दिनुपर्छ भनी परीक्षण थालेका हाँै ।” सो परीक्षण गरिएका खेतवारीमा मलखादको अनुमान गर्न सकिने खनालले जानकारी दिनुभयो ।

गाउँपालिकाले आउँदो आर्थिक वर्षमा इच्छुक किसानको माटो परीक्षण गरी उपयुक्त बाली र मलखादको सल्लाह दिने भएको छ । “माटो परीक्षण गर्नुपूर्व त्यसलाई आठदेखि १० ठाउँमा चिह्न लगाइ त्यसमा १५ देखि २० सेन्टीमिटर गहिरो खाडल खनी माटो झिकेर थोरै मात्रामा ल्याइ परीक्षण गरेर अवस्था पत्ता लगाइन्छ”, खनालले थप्नुभयो, “माटो अम्लीय वा क्षारीय कस्तो प्रकारको छ त्यसबाट उत्पादकत्व बढाउन पिएचका आधारमा चुन र क्षारीय भए जिप्सम हालेर बाली लगाउन सुझाव दिइन्छ ।” बिरुवालाई खाद्यतत्व कमी वा बढी भएमा चाहेको उत्पादकत्व लिन नसकिने खनालले जानकारी दिनुभयो ।
ललितपुर जिल्लाको क्षेत्र नं १ साविक सातवटा गाउँ विकास समिति घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल, आश्राङ र गिम्दी मिलेर वाग्मती गाउँपालिका भएको छ । विसं २०६८ को जनगणनाअनुसार यहाँ १३ हजारमाथिको जनसङ्ख्या रहेको छ । यहाँको औषत पारिवारिक आम्दानीमा कृृषि र पशुपालन व्यवसायले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । सो गाउँपालिका हुँदै काठमाडौं र हेटाँैडा जोड्ने कान्ति लोकपथको सडक छोटो दूरीमा पार गर्न सकिन्छ । यस गाउँपालिकाबाट दुधजन्य पदार्थ, धान, मकै, भटामास, तोरी, फापर, कोदो, विभिन्न थरिका दाल, गेडागुडी उत्पादन हुने गर्छन् । गाउँपालिकामा ४७ सामुदायिक विद्यालय र सात स्वास्थ्य संस्था रहेका छन् । नेपालको एक मात्र नाम चलेको राडरक्षेत्र यस गाउँपालिकामा पर्छ । ललितपुरमा रहेका अन्य पाँच पालिका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिका, महाँकाल, कोञ्ज्योसोममध्ये यस गाउँपालिकामा खानीखोलाका २ वटा पावर हाउस सञ्चालनमा छन् ।
–––

प्रतिक्रिया दिनुहोस्